तत्कालीन गृहमन्त्री लेखकको स्पष्टीकरण : ‘जेनजी प्रदर्शनमा बल प्रयोगको आदेश मबाट दिइएको होइन’

काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेनजी पुस्ताको प्रदर्शनमा बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले देशभर प्रदर्शन गरेको दिन राजधानी काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो।

शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता लेखकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्रीले आदेश दिने विषय होइन। कुनै किसिमको बल प्रयोग गर्न न त प्रधानमन्त्रीले, न मैले आदेश दिएका थियौं।”

लेखकले प्रदर्शनका क्रममा धेरैले ज्यान गुमाएको र सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको घटनाले आफूलाई दुःखित बनाएको बताए। उनले उक्त घटनापछि तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको पनि स्मरण गराए। भदौ २३ गतेको प्रदर्शनमा ज्यान गुमाएका र घाइते भएकाप्रति संवेदना व्यक्त गर्दै लेखकले त्यस दिनको घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। “न्यायसंगत छानबिनबाट मात्र सत्य बाहिर आउँछ,” उनले भने, “शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोगद्वारा दमन गर्नु लोकतान्त्रिक अभ्यास होइन।”

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्