काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेन–जी आन्दोलनका क्रममा विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ।
सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार जलेर नष्ट भएका उत्तरपुस्तिकाका कारण विद्यार्थीलाई अन्याय नहोस् भन्ने उद्देश्यले पुनः परीक्षा लिने निर्णय गरिएको हो। उनले भने, “विद्यार्थीको भविष्य सुरक्षित गर्न मंसिर ४ गतेदेखि पुनः परीक्षा सुरु गर्ने निर्णय गरिएको छ।” गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरीले सुरक्षाका लागि राखेको उत्तरपुस्तिका भएको स्थानमा आगजनी हुँदा सीटीईभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेर नष्ट भएका थिए। ती उत्तरपुस्तिकामा डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाका प्रतिलिपिहरू रहेका थिए। सीटीईभीटीले प्रभावित विद्यार्थीलाई आवश्यक जानकारी र पुनः परीक्षाको तयारीका लागि आफ्नो वेबसाइट र सम्बन्धित शिक्षण संस्थामार्फत सूचना जारी गर्ने तयारी गरेको जनाएको छ।






