काठमाडौँ – गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ । बिहीबार आयोगका प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले आयोगलाई भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, त्यसका कारण पहिचान गरी प्रतिवेदन पेस गर्ने, साथै क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी आवश्यक राय दिने कार्यादेश दिएको छ ।” विज्ञप्तिमा थप उल्लेख छ — “फौजदारी वारदातमा विस्तृत अनुसन्धान, तहकिकात र अभियोजनको कार्य आयोगको कार्यक्षेत्रभित्र पर्दैन ।” आयोगले उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँलाई नै फिर्ता पठाएको जनाएको छ । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँले ओली र लेखकविरुद्धको जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो । उक्त घटनामा जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा हिंसात्मक गतिविधि भएका थिए । त्यसबारे सत्यतथ्य पत्ता लगाउनका लागि सरकारले कार्की नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता पठायो, अब पक्राउ पर्लान ?






