देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति दिने संकेत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत गरेका छन्। असोज २६ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक तोक्नेबारे देउवाले आफूनिकट नेताहरूसँग छलफल गरेको कांग्रेस स्रोतले जनाएको छ।

सभापति देउवा आज बस्ने पदाधिकारी बैठकमा पनि उपस्थित हुने छैनन्। पदाधिकारी बैठक उपसभापति खड्काकै अध्यक्षतामा बस्ने तयारी भएको एक नेताले बताएका छन्। देउवा भने असोज २६ को केन्द्रीय समिति बैठक सुरू गर्नका लागि सानेपा पुग्ने बताइएको छ। भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो। सो क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गरी आगजनीसमेत गरेका थिए। त्यसपछि देउवा सार्वजनिक रूपमा नदेखिएका हुन्। हाल उनी काठमाडौंमै घर भाडामा लिएर बसिरहेका छन् र आफूनिकट नेताहरूसँग फोनमार्फत सम्पर्कमा रहेका छन्।

यसबीच कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूबीच हस्ताक्षर अभियान चलिरहेको छ। संस्थापनइतर समूहले ४० प्रतिशतभन्दा बढी हस्ताक्षर भइसकेको दाबी गरेको छ भने देउवा पक्षले नियमित महाधिवेशनमै जानुपर्ने धारणा राखेको छ। बिहीबार देउवा निकट केन्द्रीय सदस्यहरूले उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन्। छलफलमा सहभागी केन्द्रीय सदस्यहरूमा पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, अब्दुल सतार, गुरू बराल, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, कुन्दनराज काफ्ले लगायत थिए।

छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोक्ने संकेत गरिसकेका छन्। “सभापतिज्यूले कार्यवाहक खड्का बनाउने कुरा आएको छ,” ती सदस्यले भने। पूर्वमहामन्त्री सिटौलाले भने पार्टीलाई एकताबद्ध बनाउन पदाधिकारीहरू असफल भएको टिप्पणी गरेका थिए। उनले पार्टीका शीर्ष नेताहरूबीच विश्वासको वातावरण बनाउन नसकिएको गुनासोसमेत गरेका थिए।

देउवा पक्षका नेताहरूले नियमित महाधिवेशनका लागि मंसिरमा कार्यतालिका ल्याउनुपर्नेमा जोड दिँदै उपसभापति खड्का र सिटौलासँग छलफल गरेका थिए। खड्काले पनि नियमित महाधिवेशनमा जाने कुरा समर्थन गरेका छन्। पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित हस्ताक्षर बुझाएमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। तर देउवा पक्षले यो प्रक्रियाले पार्टीमा झनै विभाजन ल्याउने भन्दै नियमित महाधिवेशनमै जाने तयारी गरेको छ।

देउवाको चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ। कांग्रेस विधानअनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था भएकाले देउवा पुनः उम्मेदवार हुन सक्दैनन्। गत वर्षदेखि नै देउवाले आफू राजनीतिबाट अवकाश लिने संकेत दिँदै आएका छन्। तर एमालेसँगको ७ बुँदे सहमतिअनुसार आलोपालो प्रधानमन्त्री बन्ने योजना जेनजी आन्दोलनपछि परास्त भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्