काठमाडौं- माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी आन्दोलनका अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्। प्रहरीले भुसालसहित तीन जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। जेनजी अभियानका मागहरू पूरा नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। माइतीघर परिसरमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले कसैलाई पनि प्रदर्शन वा नाराबाजी गर्न नदिएको बताइएको छ।
जेनजी आन्दोलन सुरु भएको एक महिना पूरा हुँदा पनि सरकारको तर्फबाट माग सम्बोधन नभएको भन्दै भुसाल नेतृत्वको समूहले आज प्रदर्शन आयोजना गरेको थियो।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलासहितका स्थानहरूमा धर्ना, जुलुस वा प्रदर्शन नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। सो निर्देशनअनुसार प्रहरीले आज बिहानदेखि नै प्रदर्शनस्थल वरपर कडाइका साथ निगरानी गरेको हो।






