काठमाडौं – सरकारले मुलुकभर शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन सबै नागरिकसँग सहकार्यको अपील गरेको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नागरिकलाई आफ्ना आवाज र असन्तुष्टि शान्तिपूर्वक राख्न तथा विरोधका कार्यक्रमहरूलाई मर्यादित र संयमित रूपमा सञ्चालन गर्न अनुरोध गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “नागरिकका चासो, सरोकार र मागहरूलाई सरकार सदैव गम्भीरतापूर्वक लिन्छ र वार्ता तथा छलफलका माध्यमबाट समाधान खोज्ने नीति अवलम्बन गर्दछ।” मन्त्रालयले धर्ना, जुलुस वा विरोधका कार्यक्रमहरू अघि बढाउनुअघि संवाद र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनसँगै मुलुकको अवस्था सामान्यीकरण र शान्तिसुरक्षाको सुनिश्चिततामा सरकार सक्रिय रहेको उल्लेख छ। साथै आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आवश्यक तयारी अघि बढाइएको पनि उल्लेख छ।
मन्त्रालयले देशमा शान्तिसुरक्षा बहाली र निर्वाचन सम्पन्न गराउन राज्यका संयन्त्रहरूसँगै नागरिक समाज, राजनीतिक दल र आम नागरिकको पनि साझा जिम्मेवारी हुने स्पष्ट पारेको छ।






