काठमाडौं – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर।” उनले उक्त अभिव्यक्तिलाई स्पष्ट गर्दै थपे, “केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ। तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त?”
बस्नेतमाथि जेनजी युवा आन्दोलनमा दमन गरेको आरोप लागेपछि केही जेनजी अगुवाले मंगलबार प्रहरीमा उजुरी दिएका थिए। सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइसकेको छ। त्यसको भोलिपल्ट बस्नेतले सरकारलाई ओलीलाई पक्राउ गर्न चुनौती दिएका हुन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान दलका नेताहरूमाथि सुरु गरिएको विषयमा पनि बस्नेत आक्रोशित बने। उनले भने, “युवाहरूको बलमा सत्तामा पुगेकाहरूमाथि पनि अनुसन्धान हुनुपर्छ। पहिले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाटै अनुसन्धान सुरु गर।”
बस्नेतले आफूहरू पनि निर्दोष नभएको उल्लेख गर्दै भने, “हामी दूधले नुहाएको होइनौं, तर यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन पनि मिल्दैन। महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर, होइन भने नचाहिँ आरोप लगाउ।” उनका अनुसार जेनजी युवा आन्दोलन र त्यसपछिको घटनाक्रमबारे एमाले अध्यक्ष ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेका छन् भने अब अन्य नेताहरूको धारणा पनि सार्वजनिक हुँदै जानेछ।
बस्नेतले थप जानकारी दिँदै भने, “भोलि पार्टीका अन्य महत्वपूर्ण नेताहरूले पनि धारणा राख्नुहुन्छ। २४ गते सचिवालय बैठक र २७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ। यो महिनाको अन्त्यसम्ममा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्नेछ।”






