काठमाडौँ – जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर ९ असोज, २०८२ को गृहमन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। त्यो दिन गृहमन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनावारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।
तर जाँचबुझ आयोगले नियमित फौजदारी अनुसन्धान र कारवाहीका लागि आयोगको प्रतिवेदन नपर्खन सुझाव दिएको हो । आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’







