काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी विगत केही समयदेखि बिना जानकारी कार्यस्थलबाट गैरहाजिर रहेका छन् । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै ती सबै कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ ।
यदि तोकिएको समयभित्र सम्पर्कमा नआएमा नियमावली अनुसार सेवाबाट निष्कासन गरिने चेतावनी पनि दिइएको छ । गैरहाजिर हुनेहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले गैरहाजिर कर्मचारीहरूको खोजी तथा तोकिएको प्रक्रिया अनुसार सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा नआएको जनाएको छ । उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्ने गरी लिखित स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र आ-आफ्नो कार्यालयमा हाजिर हुन भनिएको छ ।







