धादिङ – ‘जेनजी आन्दोलन’का भिडिओहरूमा “मेरो आँखामा डर छ?” भन्दै चर्चित बनेका धादिङका यमबहादुर कँडेलले आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
३० वर्षीय कँडेलमाथि आइतबार राति आफ्नी आमा राममाया कँडेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनापछि प्रहरी टोलीले उनलाई घटनास्थलमै हतियारसहित नियन्त्रणमा लिएको हो।
कँडेल जेनजी आन्दोलनका क्रममा साहसिक वक्तव्य र भिडिओका कारण सामाजिक सञ्जालमा चर्चित बनेका थिए। देश र जनताको लागि लड्ने भावना अभिव्यक्त गर्ने उनको स्वर धेरैलाई प्रेरणादायी लागेको थियो। तर, त्यही युवकले आफ्नै आमाको ज्यान लिएपछि गाउँ मात्र होइन, आन्दोलनमा उनलाई चिनेका सबै स्तब्ध भएका छन्। स्थानीयवासीका अनुसार आइतबार राति परिवारभित्र सामान्य विवादपछि घटना भएको अनुमान गरिएको छ। प्रहरीले भने घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। एकपटक “देशका लागि मर्न तयार छु” भन्ने युवकको यस्तो दुःखद मोडले देशभर दुःख र निराशा फैलिएको छ।






