काठमाडौं – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले यही असोज २६ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइसकेका बेला असन्तुष्ट समूहले बैठकअघि नै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर पेश गर्ने तयारी गरेको छ । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई व्यवस्था छन्— पहिलो, केन्द्रीय समितिले आवश्यक ठानेर बोलाउने; र दोस्रो, महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा बोलाउनुपर्ने । ६ असोजदेखि सुरु गरिएको हस्ताक्षर अभियान अहिले तीव्र बनेको छ । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान अघि बढाउनेहरूमा डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट नेताहरू सक्रिय छन् ।
संस्थापनइतर नेताहरूका अनुसार हालसम्म ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको दाबी गरिएको छ । १४औं महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि निर्वाचित भएका थिए । विधानअनुसार विशेष महाधिवेशन माग गर्न १ हजार ८९८ जनाको हस्ताक्षर आवश्यक पर्छ । हस्ताक्षरसहित लिखित माग भएमा तीन महिनाभित्र पार्टीले विशेष महाधिवेशन बोलाउनुपर्ने कानुनी प्रावधान छ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग तीव्र भएको थियो । सोही पृष्ठभूमिमा अब आसन्न केन्द्रीय समिति बैठक र विशेष महाधिवेशन तयारीबारे आज नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता हुने तय भएको छ । पार्टीभित्रको यो सरगर्मीले आगामी केही दिनमा कांग्रेसको राजनीतिक समीकरणमा ठूला परिवर्तन ल्याउने सम्भावना बढाएको छ ।






