काभ्रे । लगातार दुई दिनको अविरल वर्षापछि रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गको ठूलो भाग बगाएको छ। सडक कटान भएपछि हाल बीपी राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ, जसका कारण पूर्वी पहाडी जिल्ला र काठमाडौंबीचको यातायात आवागमन अवरुद्ध भएको छ। बाढीले गत वर्ष बगाएको स्थानमै पुनः ठूलो क्षति पुर्याएको हो। सो ठाउँमा गत वर्षको बाढीपछि अस्थायी रूपमा सडक निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। तर, यसपटकको बाढीले त्यही भाग पुनः बगाएपछि सडक पूर्ण रूपमा विच्छेद भएको सडक विभागले जनाएको छ।
सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार बीपी राजमार्ग सञ्चालनमा ल्याउन कम्तीमा सात दिन लाग्नेछ। उनले भने, “खोलामा अहिले पनि पानीको बहाव अत्यधिक छ। पानी घटेपछि मात्रै मर्मत र पुनर्निर्माण सुरु गर्न सकिन्छ।” सडक बगाएपछि पूर्वतर्फका सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ। अहिले काठमाडौं आउने यातायात साधनहरू दोलखाको चरिकोट हुँदै राजधानी आउजाउ गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
गत वर्षको असोज महिनामा आएको बाढीले पनि रोशी खोला र सुनकोशी नदीमा ठुलो क्षति पुर्याएको थियो। सोही ठाउँमा अस्थायी रूपमा बनाइएको सडक पुनः बगाएपछि स्थानीय बासिन्दा र यात्रुहरू फेरि पनि कठिनाइमा परेका छन्। स्थानीय प्रशासनले हिउँद सुरु हुनु अघि नै राजमार्ग पूर्ण रूपमा मर्मत गर्ने तयारी गरेको जनाएको छ। तर हालका लागि बीपी राजमार्ग कम्तीमा एक सातासम्म सञ्चालनमा नआउने प्रष्ट भएको छ।







