जेनजी आन्दोलनपछि देउवा अझै सार्वजनिक भएनन्, महाराजगञ्जमा भाडाको घरमा बसिरहेको खुलासा

काठमाडौं – जेनजी प्रदर्शनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि सार्वजनिक भएका छैनन् ।

भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देउवा निवास बूढानीलकण्ठमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीअघि देउवा र उनकी श्रीमती, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई प्रदर्शनकारीले कुटपिट गर्दै घरबाट बाहिर निकालेका थिए । त्यसपछि भीडले देउवा निवासमा आगजनी गरी घर पूर्णरूपमा ध्वस्त बनाएको थियो । घटनामा देउवा र आरजु राणा दुवै घाइते भएका थिए । उनीहरूलाई नेपाली सेनाले तत्काल उद्धार गरी शिवपुरी ब्यारेकभित्र उपचार गराएको सुरक्षा निकायले जनाएको छ । उपचारपछि असोज २ गते उनीहरू डिस्चार्ज भएका थिए ।

त्यसपछि देउवा दम्पतीले महाराजगञ्जमा एक घर भाडामा लिएर बस्न थालेका छन् । तर, नेपाली कांग्रेसले सभापति देउवा अहिले कहाँ र कस्तो अवस्थामामा छन् भन्ने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । देउवा हालसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । पार्टीका निकट स्रोतका अनुसार उनी स्वास्थ्यलाभकै क्रममा रहेका छन् । जेनजी प्रदर्शनका कारण सरकारसमेत ढलेपछि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् । प्रदर्शनकारीले ओली निवास बालकोटमा समेत आगजनी गरेका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवास पनि जलेको थियो । सुरक्षा अधिकारीका अनुसार प्रचण्ड हाल परिवारकै सदस्यको घरमा बस्दै आएका छन् । जेनजी आन्दोलनपछि देशभरका शीर्ष नेताहरू सेनाका ब्यारेकमा आश्रय लिएका थिए । अहिले पनि अधिकांश राजनीतिक नेतृत्व सुरक्षाका कारण निजी वा गोप्य आवासमा बस्दै आएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्