काठमाडौँ – अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरीले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा २ जना, फाकफोकथुममा १ जना, मान्सेबुङमा ३ जना, माइजोगमाइमा ८ जना र सन्दकपुरमा ३ जना गरी कुल २८ जनाको ज्यान गएको हो।
पहिरोका कारण धेरै घरहरू पुरिएका छन् भने केही व्यक्ति हराइरहेका छन्। सुरक्षा निकायहरूले उद्धार कार्य तीव्र रूपमा अघि बढाइरहेका छन्, र घाइतेहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि अस्पताल पठाउन सुरु गरिएको इलाम प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेको छ। लगातारको वर्षाले अझै पनि पहिरोको जोखिम कायमै रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।







