काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ।
मौसमविद् डेभिड ढकालका अनुसार शुक्रबारदेखि सक्रिय रहेको पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सरेको र आज साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना रहेको छ। “पानी पार्ने प्रणाली पूर्व सरेको छ, आज साँझसम्म बाहिरिने सम्भावना छ,” उनले भने, “पूर्वमा पनि अति भारी वर्षाको सम्भावना छैन, भारी वर्षा मात्रै हुन सक्छ।”
गत केही दिनयता बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र भारतको उडिसा आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण काठमाडौंदेखि झापासम्म भीषण वर्षा भएको थियो। पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा धेरै ३५२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशमा पूरै बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र लुम्बिनीमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहने बताइएको छ।






