काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण उत्पन्न बाढी–पहिरो तथा मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबारदेखि सुरु भएको लगातार वर्षाले राजमार्ग अवरुद्ध हुनुका साथै जनधनको क्षति बढ्न सक्ने सम्भावना देखिएकाले सबै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा प्रमुखहरूलाई सतर्क रहन आह्वान गरेको हो।
गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा उद्धारका लागि हेलिकोप्टर आवश्यक परे तत्काल सम्पर्क गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निजी क्षेत्रसँग सहकार्य गरी आवश्यक परे उद्धारका लागि हेलिकोप्टर उपलब्ध गराउन व्यवस्था मिलाएको जनाएको छ।
यसअघि मन्त्रालयले सबै सिडिओ र सुरक्षा प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपस्थित रहन तथा स्थानीय तहसँग समन्वय गरेर सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आठ बुँदे निर्देशन जारी गरेको छ।







