काठमाडौं । निरन्तर परिरहेको वर्षाका कारण बागमती र मधेश प्रदेश भएर बहने अधिकांश नदीहरूमा पानीको सतह बढ्दै गएपछि बाढीको जोखिम थप उच्च भएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल काभ्रे, काठमाडौं र मकवानपुर जिल्लाका नदी–नालामा पानीको बहाव तीव्र रूपमा बढेको छ।
महाशाखाले विशेषगरी काभ्रे–रोसी, मनोहरा (काठमाडौं), बागमती (काठमाडौं) र लालबकैया (मकवानपुर) नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्ने क्रम जारी रहेको जनाएको छ।
बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सबै नदीहरू सतर्कता तह नजिक पुगेका कारण महाशाखाले आसपासका बस्तीहरूमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरेको छ।
महाशाखाले नदी किनार र खोला आसपासका क्षेत्रहरूमा अनावश्यक आवत–जावत नगर्न, सम्भावित बाढी जोखिम क्षेत्र खाली गर्न र स्थानीय प्रशासनको निर्देशनअनुसार सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।






