काठमाडौं – शनिबार बिहानदेखि नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने मौसम प्रणाली देशको दक्षिणी भूभाग हुँदै काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार पर्साको वीरगञ्ज आसपासका क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ।
मौसमविद्हरूका अनुसार उक्त वर्षा प्रणाली अहिले वीरगञ्जबाट जितपुर, निजगढ, हेटौडा हुँदै काठमाडौं उपत्यकातर्फ सर्दैछ। उपत्यकाको दक्षिणी भागमा पानीको मात्रा उत्तरी भागको तुलनामा बढी मापन भइरहेको छ।
पछिल्लो २४ घण्टामा वीरगञ्जमा १४४ मिलिमिटर वर्षा मापन गरिएको छ, जसलाई ‘चेतावनीको तह’को वर्षा मानिन्छ। त्यसपछि बाराको कलैयामा १४० मिलिमिटर, काठमाडौं उपत्यकामा भने गोदावरीमा ८२ दशमलव ४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।
विभागका अनुसार २४ घण्टामा १४० मिलिमिटर वा सोभन्दा बढी वर्षा ‘उच्च जोखिम तह’मा पर्ने भएकाले पहाडी क्षेत्रहरूमा पहिरो र तराईमा डुबानको खतरा रहेको चेतावनी दिइएको छ।
पछिल्लो एक घण्टाको तथ्यांक हेर्दा रौतहटमा सबैभन्दा बढी २९ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ। पर्सामा २१, बारामा १५ दशमलव ८, वीरगञ्जमा १३ दशमलव ६ र मकवानपुरगढी क्षेत्रमा पनि १० मिलिमिटरभन्दा बढी वर्षा भएको देखिन्छ।
उपत्यकाभित्र भने पछिल्लो एक घण्टामा ललितपुरको लेलेमा १२ दशमलव २ मिलिमिटर, पनौतीमा १४ मिलिमिटर, र नगरकोट, नैकाप तथा नालामा करिब ९ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमविद्हरूका अनुसार शनिबार अपरान्हपछि काठमाडौं उपत्यकामा वर्षा प्रणाली अझ सक्रिय हुँदै भारी पानी पर्ने सम्भावना रहेको छ। यसका कारण भूस्खलन, सडक अवरुद्ध र नदी–खोलाको सतह बढ्ने जोखिम पनि रहेको चेतावनी दिइएको छ।






