काठमाडौं– अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग तथा नाकाहरू अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन आवत–जावत प्रभावित भएको छ।
काठमाडौं उपत्यका बाहिरिने मुख्य नाका अवरुद्ध
मिति २०८२ असोज १८ गते बिहान ७:०० बजेदेखि लगातारको वर्षाका कारण काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकाबाट धादिङ र मकवानपुरतर्फ जाने नागढुङ्गा, गोदाम र टखेल मार्गमा दुबै तर्फका सवारी साधन होल्ड गरिएको प्रहरीले जनाएको छ। अर्को आदेश नआएसम्म उक्त मार्गमा आवत–जावत बन्द गरिएको छ।
बि.पि. र अरनिको राजमार्ग बन्द
सोही दिन बिहान ८:३० बजेबाट काभ्रे जिल्लामा पर्ने बि.पि. र अरनिको राजमार्ग दुबै तर्फी सवारी साधनका लागि अनिश्चितकालका लागि बन्द गरिएको छ। धुलिखेलदेखि दोलालघाट हुँदै सिन्धुपाल्चोक सिमानासम्मको खण्ड अविरल वर्षाका कारण जोखिमपूर्ण बनेपछि यातायात आवागमन रोकिनु परेको हो।
रसुवामा मितेरी पुल क्षतिग्रस्त, सडक अवरुद्ध
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा गत २०८२ असार २४ गते बिहान ३:०० बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल क्षति हुँदा सीमा नाका हुँदै सवारी साधन आवत–जावत रोकिएको छ। यस्तै असोज १६ गते रसुवाकै घट्टेखोला र बालुवाखानीमा सुख्खा पहिरो झर्दा पासाङ ल्हामु सडक खण्ड अवरुद्ध भएको छ।
संखुवासभामा कोशी राजमार्ग अवरुद्ध
संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा गत २०८२ जेठ ६ गते आएको बाढीले ह्युम पाइप बगाएपछि खाँदबारी–थुमसुर जोड्ने कोशी राजमार्ग अवरुद्ध भएको छ। वर्षा अवधिभर सो मार्ग सञ्चालनमा आउन नसक्ने जनाइएको छ। त्यस्तै असोज १५ गते राति मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पहिरो खस्दा खाँदबारी–किमाथांका सडक खण्ड समेत पूर्णरुपमा बन्द भएको छ।
वि.पि. राजमार्ग ६ दिन रातभर बन्द हुने
काभ्रे जिल्लामा पर्ने बि.पि. राजमार्ग असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म हरेक दिन बेलुकी ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म पूर्णरुपमा बन्द रहने व्यवस्था गरिएको छ।
अरनिको राजमार्ग भासिँदा आवत–जावत प्रभावित
भोटेकोशी गाउँपालिका–४ चारकिलोमा असोज १६ गते बिहान १०:१० बजे २ मिटर सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध भएको थियो। असोज १७ गते साँझ साना सवारी साधनलाई मात्र सञ्चालनमा ल्याइए पनि असोज १८ गते बिहान ८:१५ बजे फेरि करिब १५ मिटर लम्बाइ र १ फिट गहिराई भासिँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
देशका विभिन्न भागमा अविरल वर्षा, पहिरो र सडक भासिँदा राजमार्ग अवरुद्ध भइरहेका कारण यात्रुहरूलाई आत्तिन नहुने र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।






