गाजामा युद्धविरामका लागि हमास सहमत, विपिनको रिहाइको आशा

काठमाडौं — अमेरिकी प्रस्तावअनुसार गाजामा युद्धविरामबारे वार्ता गर्न सहमति जनाएपछि विद्रोही समूह हमासले अपहरणमा परेका बन्धकहरू छिट्टै रिहा हुनसक्ने सम्भावना बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २० बुँदे प्रस्तावमा अपहरण गरिएका सबै बन्धकहरूको रिहाइको व्यवस्था समेटिएको छ। हमासले वार्तामा बस्ने तयारी जनाएसँगै गाजामा रहेका बन्धकहरूको मुक्तिको अपेक्षा बढेको छ।

विपिन जोशीको अवस्था अझै अज्ञात

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। अपहरणपछि एकपटक उनलाई अस्पतालमा उपचारका लागि लगिएको भिडियो इजरायली सञ्चारमाध्यममा सार्वजनिक भए पनि त्यसयता उनको अवस्थाबारे कुनै जानकारी आएको छैन।

हालै हमासले विपिनसहित ४८ बन्धकको फोटो सार्वजनिक गर्दै ‘बिदाइ तस्वीर’ भनेर क्याप्सन दिएको थियो। उक्त तस्वीरमा जीवित र मृत सबै बन्धकहरूको अनुहार देखाइएको थियो। साथै, प्रत्येक फोटोमाथि ‘रोन अराड’ लेखिएको थियो। रोन अराड १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना पाइलट हुन्, जसको अवस्था आजसम्म अज्ञात छ। यसले बन्धकहरूको भविष्यबारे थप अनिश्चितता बढाएको छ।

परिवार र सरकारको पहल

नेपाल सरकारले कूटनीतिक पहलमार्फत विपिनको अवस्थाबारे जानकारी लिन खोजे पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन। विपिनको परिवार इजरायलदेखि अमेरिकासम्म पुगेर उनको रिहाइका लागि लगातार आग्रह गर्दै आएको छ।

एउटा आशा

गाजामा जारी युद्धका कारण ठूलो मानवीय र भौतिक क्षति भइसकेको छ। अब युद्धविरामका लागि वार्ता हुने भएपछि शान्ति कायम हुने अपेक्षा गरिएको छ। यदि वार्ता सफल भयो र विपिन अझै जीवित छन् भने निकट भविष्यमै उनी स्वदेश फर्कने सम्भावना प्रबल देखिएको छ।

तर, हालसम्म हमासले उनको अवस्थाबारे कुनै स्पष्ट जानकारी नदिएको कारण विपिनको परिवार र नेपाली जनतामा चिन्ता कायमै छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्