धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा सवारी आवागमन बन्द

काठमाडौं — लगातार वर्षासँगै पहिरोको जोखिम बढेपछि धादिङ, चितवन र तनहुँका सडक खण्डमा आज बिहानदेखि सवारी आवागमन रोकिएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा बिहान करिब २ बजे पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो। प्रहरी, स्थानीय र यात्रुको सहयोगमा केही समयपछि बाटो खुलाइएको भए पनि फेरि बिहान ६ बजेतिर माथिबाट ठूलो पहिरो खस्दा सडक पुनः बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पनि यात्रामा जोखिमपूर्ण भएपछि बिहान ६ बजेदेखि सवारी साधन चलाउन रोक लगाइएको छ। मुग्लिनस्थित तुइन खोलामा सानो पहिरो खसेपछि बाटो खुलाइसकिए पनि ढुंगा झर्ने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार यात्रु सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा राजमार्गमा सवारी आवागमन रोकिएको हो।

त्यसैगरी तनहुँका जोखिमयुक्त सडक खण्डमा पनि आज बिहानैदेखि गाडी चलाउन रोकिएको छ। लगातारको वर्षाले पहिरो खस्ने र ढुंगा झर्ने क्रम जारी रहेकाले अहिले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ। बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुहरू लामो समयदेखि सास्ती खेप्दै आएका छन्। प्रहरी प्रशासनले यात्रुहरुलाई अनावश्यक जोखिमपूर्ण यात्राबाट जोगिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्