काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। वर्षासँगै बाढी, पहिरो र भू–क्षयजस्ता विपदजन्य घटनाको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।
कार्यालयले सो अवधिमा अत्यन्त जरुरी नभई लामो दूरीको यात्रा नगर्न, साथै काठमाडौँ प्रवेश गर्ने वा बाहिरिने यात्रुहरूले राति यात्रा नगर्न सुझाव दिएको छ।
विपद्को बेला तत्काल उद्धार, सहयोग र राहतका लागि प्रशासनले आपतकालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।
प्रशासनले मौसम पूर्वानुमानअनुसारको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सचेत रहन, संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाउन र स्थानीय निकायसँग समन्वयमा रहन आग्रह गरेको छ।






