विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

काठमाडौं – नेपाल सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा पुगेको ठूलो क्षतिको पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीहरूलाई सहयोगको अपिल गरेको छ।

सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड हुँदा धेरै संरचना पूर्णरूपमा ध्वस्त भएका थिए। उक्त क्षतिको पुनर्निर्माण गर्न सरकारले ५ असोजमा मन्त्रिपरिषद् बैठकमार्फत भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। यसअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको थियो।

अर्थ मन्त्रालयले स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूलाई उक्त कोषमा सहयोग गर्न आग्रह गरेको छ। यस अनुरोधअनुसार कतार, इरान, कुवेत, इजरायल र साइप्रसस्थित नेपाली दूतावास तथा नियोगहरूले आफ्ना सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत कोषमा योगदान गर्न अपिल गरेका छन्।

कतारस्थित नेपाली राजदूतावासले आफ्नो सुचनामा जेनजी आन्दोलनका कारण देशभरका पूर्वाधारमा क्षति पुगेको भन्दै राष्ट्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सहयोग गर्न आग्रह गरेको छ। कुवेत र इजरायलस्थित दूतावासले पनि यही अनुरोध गर्दै विदेशमा रहेका नेपालीहरूलाई राष्ट्रको पुनर्निर्माण अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि मातृभूमिप्रति कर्तव्य र दायित्व भएको भन्दै विदेशमा रहेका नेपालीहरूलाई कोषमा योगदान गर्न अनुरोध गरेको छ। एनआरएनएको अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य प्राकृतिक तथा सामाजिक संकटका बेला एनआरएनले सदैव सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि राष्ट्रको पुनर्निर्माणमा योगदान दिन अपिल गरेका छन्।

एनआरएनएको ‘नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्न विदेशमा रहेका सबै एनआरएन समुदायलाई योगदान गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्