रास्वपाभित्र परिवर्तन आवश्यक छ: सहमहामन्त्री आचार्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्रै पनि परिवर्तन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले लेखेका छन्, “नेपाली समाजले खोजेको परिवर्तनको सारथी बन्न रास्वपाभित्र पनि परिवर्तन आवश्यक छ भन्ने तथ्य स्वीकार्न हामी सबै तयार हुनैपर्छ।”

आचार्यका अनुसार जेनजी आन्दोलनपछि नागरिक अपेक्षा र राजनीतिक मनोविज्ञानमा आएको ठूलो परिवर्तनलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेछ। पार्टीभित्र बहस ‘टप–टु–डाउन’ मात्र नभई ‘डाउन–टु–टप’ बाट पनि हुनुपर्ने उनले स्पष्ट पारे। उनले भने, “रास्वपाले सुरु गरेको सुसंस्कृत राजनीतिक अभ्यास जम्मा तीन वर्ष पुरानो हो। पुराना दलहरूले सुधारपछि पुग्ने भन्दा निकै अगाडिबाट हाम्रो यात्रा सुरु भएको छ।” उनले आगामी परिवर्तनको आधार स्तम्भ अनुभव, तथ्यपरक मूल्यांकन र सबैले अपनत्व लिन सक्ने छलफल हुनुपर्नेमा जोड दिए।

आचार्यले परिवर्तन लहडमा नभई कार्ययोजना र कार्यान्वयन योग्य विकल्पसहित अघि बढ्नुपर्ने सुझाव दिए। विधान परिमार्जन, महाधिवेशन मिति निर्धारण, संरचना पुनर्गठनलगायतका विषयमा पार्टी सधैं तयार रहने विश्वास पनि उनले व्यक्त गरे। त्यस्तै, पार्टी छाडेर जानेहरूप्रति दुराभाव नराख्न आग्रह गर्दै उनले लेखेका छन्, “पार्टी छोडेर जाने साथीहरूप्रति सम्मानको संस्कृति विकास गर्नुपर्छ। तर, नियत र विधि सधैं एक अर्काका परिपूरक हुनुपर्छ भन्ने मूल सिद्धान्त भने कहिल्यै बिर्सन हुँदैन।”

आचार्यका अनुसार पार्टी छाड्ने वा पार्टीमै रहेर विषबमन गर्ने प्रवृत्तिले सुसंस्कृत राजनीतिलाई सहयोग गर्दैन। बरु, कुशासन र भ्रष्टाचारविरुद्ध ऊर्जा खर्च गर्नुपर्ने उनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्