काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको २० बुँदे युद्धविराम योजना कार्यान्वयन भएमा गाजामा रहेका सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ। यसमा २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासले अपहरण गरेका नेपाली विपिन जोशी पनि परेका छन्।
सोमबार राति वासिङटनमा राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच सहमति बनेको योजनामा बन्दीहरूको रिहाइलाई पहिलो प्राथमिकतामा राखिएको छ। योजनाको तेस्रो बुँदामा स्पष्ट भनिएको छ, “हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ।” यस अर्थमा, हमासले स्वीकार गरे तीन दिनभित्र सबै बन्दीहरूको अवस्था सार्वजनिक हुनेछ।
यसको बदलामा इजरायलले २५० आजीवन कारावासी र १,७०० कैदीहरूलाई मुक्त गर्ने उल्लेख छ। साथै, प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिने प्रावधान पनि राखिएको छ। गत असोज ४ गते हमासको सशस्त्र शाखाले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गर्दा विपिन जोशी पनि देखिएका थिए। उक्त तस्वीरले उनको अवस्थाबारे चिन्ता बढाएको थियो।
ट्रम्पले योजनासँगै गाजामा अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने र त्यसको नेतृत्व आफूले नै गर्ने घोषणा गरेका छन्। उनले चेतावनी दिँदै भने, “यदि हमासले स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ, अमेरिका साथ दिनेछ।” हमासले भने औपचारिक प्रस्ताव नपाएको दाबी गर्दै हतियार नछाड्ने अडान लिएको छ। यसले योजनाको कार्यान्वयन अझै अनिश्चित देखिएको छ।
यो योजना सफल भए गाजामा जारी युद्ध अन्त्य हुने, बन्दीहरू फर्किने र क्षेत्र आतंकमुक्त हुने अपेक्षा गरिएको छ। तर, हमासको अस्वीकारले भविष्य अध्यारो बनाएको विश्लेषकहरूले बताएका छन्।






