काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंमा टीका जमरा नलगाउने निर्णय गरेकी छन्। जेनजी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको पीडाका कारण यस्तो निर्णय गरिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बडादसैं प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेको पीडा हाम्रासामु रहेको छ।” त्यसैले यस वर्ष प्रधानमन्त्रीले टीका लगाउने वा लगाइदिने कार्यक्रम नरहेको विज्ञप्तिमा उल्लेख छ।
दसैंको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कार्कीले सरकारले तोकेको मितिमा निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याएकी छन्। उनले युवा पुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार बनेकाले सुशासन कायम गर्न सरकारले पूर्ण प्रतिबद्धता लिएको बताइन्।
समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै प्रधानमन्त्रीले मुलुकलाई सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढाउने सङ्कल्प व्यक्त गरिन्। उनले दसैंलाई पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउने पर्वका रूपमा लिँदै यसले नेपाली समाजमा एकता र सामूहिकताको भावना सुदृढ बनाउन सकोस् भन्ने शुभकामना समेत व्यक्त गरिन्।






