काठमाडौं – सभामुख देवराज घिमिरेले युवापुस्ताले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव हुने बताएका छन्। बडा दसैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित रहेको उल्लेख गरे।
“दसैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको छु। जीवन गुमाउने नागरिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु,” सन्देशमा भनिएको छ। विद्रोहका क्रममा नष्ट भएका संरचनाको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने उनको विश्वास छ। घिमिरेले संविधान संशोधनीय दस्तावेज भएकाले लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोमार्फत मात्र दिगो समाधान खोज्न सकिने बताएका छन्।
दसैंलाई सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकका रूपमा लिँदै उनले यो पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भाव जगाओस् भन्ने शुभकामना व्यक्त गरे। उनका अनुसार दसैंले विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीलाई साझा संस्कारले एकतामा बाँध्ने कार्य गर्दै आएको छ। “बडा दसैं मिलन, मेलमिलाप र एकताको चाड पनि हो। पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य र एकता आवश्यक छ। अग्रजको अनुभव र नवयुवाको जोशलाई एकाकार गर्दै नयाँ नेपालको निर्माणमा सबै लाग्न सकौं भन्नेमा म दृढ छु,” उनले भने।






