जेनजी आन्दोलनपछि कांग्रेसको रणनीति : असोज २६ मा केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असोज १२ – जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। गत भदौ २३–२४ गते भएको आन्दोलनपश्चात् पार्टीभित्र नेतृत्व, महाधिवेशन र आगामी राजनीतिक रणनीतिबारे तीव्र बहस सुरु भएको छ।

सभापति शेरबहादुर देउवाले अस्पतालमै उपचाररत रहँदै उपसभापति पूर्णबहादुर खड्कासँग परामर्श गरी बैठक आह्वान गर्न निर्देशन दिएका हुन्। आन्दोलनकै क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा निर्घात कुटिएका देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा हाल सैनिक अस्पतालमा उपचाररत छन्।

कांग्रेसमा अहिले नेतृत्व परिवर्तनका बारेमा मतैक्यता भए पनि प्रक्रिया कसरी अघि बढाउने भन्नेमा फरक–फरक धारणा देखिएको छ।

 संस्थापन पक्षको अडान
देउवासहित संस्थापन समूहका नेताहरू नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन्। उनीहरूको भनाइमा, केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी मंसिरमा सकिँदै भएकाले नियमित महाधिवेशनको तयारीमा जानु उचित हुन्छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र प्रवक्ता प्रकाशशरण महतलगायत नेताहरू यही अडानमा छन्।

 विशेष महाधिवेशनको बहस
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षीय समूहले भने विशेष महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका थिए। तर, आन्तरिक असहमतिको कारण अहिले यो अभियान रोकिएको छ। यद्यपि थापा–शर्मा पक्षीय युवाहरू अझै पनि विशेष महाधिवेशनकै पक्षमा देखिन्छन्।

 कार्यवाहक सभापतिको प्रस्ताव
उपसभापति पूर्णबहादुर खड्काले विधानअनुसार कार्यवाहक सभापतिको जिम्मेवारी लिएर पार्टीलाई आगामी निर्वाचनतर्फ केन्द्रित गर्नुपर्ने बताउँदै आएका छन्। पूर्वउपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालासमेत यो धारणा नजिक देखिन्छन्। निधिले स्पष्ट रूपमा देउवाले कार्यवाहक खड्कालाई जिम्मेवारी दिनुपर्ने अभिव्यक्ति दिएका छन्।

 युवा नेताहरूको धारणा
डा. शेखर कोइराला निकट युवा नेताहरू भने नियमित महाधिवेशनमै नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन्। उनीहरूको भनाइमा, विशेष महाधिवेशनले संकट समाधान नगरी उल्टै विवाद बढाउन सक्छ।

कांग्रेस विधानअनुसार सभापति देउवा अबको महाधिवेशनबाट फेरि उम्मेदवार बन्न सक्दैनन्। यही कारणले नेतृत्व हस्तान्तरण र देउवालाई ‘सम्मानजनक बहिर्गमन’ दिनेबारे पनि आन्तरिक छलफल भइरहेको छ।

असोज २६ गतेको केन्द्रीय कार्यसमिति बैठकले जेन–जी आन्दोलनपछिको राजनीतिक मूल्याङ्कन मात्र होइन, कांग्रेसको आगामी रणनीति, महाधिवेशनको प्रकृति र नेतृत्व परिवर्तनको बाटो पनि तय गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्