यसपालिको दशैँमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। हालै जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले देशभरि शोकको वातावरण व्याप्त भएको भन्दै शाहले सार्वजनिकरूपमा टीका जमरा लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेका हुन्।

दशैंको शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं। श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् – यही हाम्रो कामना हो।”

शुभकामना सन्देशमा उहाँले दशैंलाई नेपालीहरूको राष्ट्रिय चाड भन्दै देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको मंगलकामना व्यक्त गरेका छन्। उनले नेपालको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्वजले दिएका बलिदानलाई गौरवशाली परम्परा भनेका छन्।

शाहले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको दाबी गर्दै भनेका छन्, “कुनै परनिर्भरतामा नफसी, भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नुपर्ने आवश्यकता छ।”  शाहले नयाँ पुस्तालाई राष्ट्रको आधारस्तम्भ भन्दै उनीहरूको देशभक्ति, ऊर्जाशक्ति र नवीन सोचले मात्रै नेपाललाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउन सक्ने धारणा राखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्