काठमाडौँ । हालै सम्पन्न जेनजी प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गर्ने विभिन्न युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली फेला परेको छ। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार राजधानी उपत्यका र प्रदेशस्तरीय युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेका ती गोली बरामद गरिएको हो।
प्रहरी प्रधान कार्यालयले अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति बनाएर प्रदर्शनमा भएको क्षतिको विवरण संकलन गरेको थियो। समितिले प्रतिवेदन तयार पारेर प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई बुझाइसकेको छ।
आन्तरिक प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाबाट मात्र करिब ६ सय राउन्ड गोली लुटिएको उल्लेख छ। त्यस्तै, प्रदर्शन स्थलमा हराएका र विभिन्न युनिटबाट लुटिएका करिब २०० अश्रुग्याँस सेल पनि प्रहरीले फेला पारेको जनाएको छ।






