काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र अध्यक्ष माधवकुमार नेपालले गठन गरेको पार्टी एकता कार्यदल र लिइएका आधारबारे आन्तरिक मतभेद सार्वजनिक भएको छ।
असोज १० गते अध्यक्ष नेपालले वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने अपानी जारी गरेका थिए। कार्यदलमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य तोकिएका छन्। यस कार्यदललाई माओवादी केन्द्रसहित अन्य वामपन्थी दलहरूसँग एकताको सम्भावनाबारे वार्ता गर्ने जिम्मेवारी दिइएको छ।
तर, पार्टीभित्र पर्याप्त छलफल नै नगरी अपानी जारी भएको भन्दै नेताहरू असन्तुष्ट बनेका छन्। पोलिटब्युरो सदस्य एवम् प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले यस विषयमा फरक मत राख्दै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।
अर्यालले पार्टी विधानअनुसार महाधिवेशनपछि सर्वोच्च निर्णय गर्ने निकाय केन्द्रीय कमिटी भएकाले, पार्टी एकताको आधार जस्तो संवेदनशील विषय त्यहीं छलफल गरेर पारित गर्नुपर्ने बताए। “महत्त्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरी सार्वजनिक गर्नु विधिसम्मत हुँदैन,” उनले भने।
उनले प्रस्तुत ११ बुँदे आधारमा वामपन्थी एकीकरण, वर्ग सङ्घर्ष, नीति तथा नेतृत्व पुनर्गठन, प्रतिस्पर्धाबाट श्रेष्ठता, प्रगतिशील संस्कृति, इतिहासप्रति दृष्टिकोण र सम्मानजनक अवकाश जस्ता महत्त्वपूर्ण बुँदा छुटेको टिप्पणी पनि गरे। “यी विषय केन्द्रीय कमिटीमै उठाएर समृद्ध बनाउन जरुरी छ,” अर्यालले जोड दिए।






