काठमाडौं – दशैँ–तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हालको विषम अवस्था र सडक जोखिमको मौका छोपेर भाडा महँगो बनाइएको गुनासो आएपछि यस्तो आग्रह गरिएको हो ।
‘सरकारले तोकेको अधिकतम मूल्यभन्दा कममा टिकट बिक्री गर्न भनिएको छ,’ भुलले बताए, ‘यात्रुलाई राहत दिने उद्देश्यले सबै पक्षलाई सचेत गराइएको छ ।’
हवाई टिकटको न्यूनतमदेखि अधिकतम मूल्यसम्मको सीमा कानूनमै व्यवस्था गरिएको छ । प्राधिकरणका अनुसार दशैँ–तिहारमा यात्रुको चाप बढ्ने भएकाले अतिरिक्त उडानको समेत व्यवस्था गरिएको छ ।
सामान्यतया नेपालमा दैनिक करिब १० हजार यात्रुले आन्तरिक हवाई सेवा उपयोग गर्ने गरेका छन् । चाडपर्वका बेला यो सङ्ख्या बढेर दैनिक १८ हजारसम्म पुग्ने भएकाले यात्रु सहजताका लागि अतिरिक्त उडान थपिएको प्राधिकरणले जनाएको छ ।






