ताप्लेजुङ । करिब दुई महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान पुनः सञ्चालन भएको छ । साउन ५ गतेदेखि अवरुद्ध हुँदै आएको उडान शुक्रबार नेपाल वायु सेवा निगमले सञ्चालन गरेको हो ।
निगमले हप्तामा एकपटक शुक्रबार नियमित उडान तालिका निर्धारण गरेको छ । शुक्रबारको उडानमा काठमाडौंबाट १४ जना यात्रु सुकेटार पुगे भने ताप्लेजुङबाट ९ जना यात्रु काठमाडौं आए । निगमसँग हाल एउटा मात्रै जहाज सञ्चालनमा रहेको र अर्को जहाज मर्मतमा भएकाले तत्काल उडान संख्या बढ्ने सम्भावना छैन ।
वर्षायामको तुलनामा हिउँदमा सुकेटारमा बढी संख्यामा उडान अवतरण हुने तथ्यांक छ । काठमाडौं–ताप्लेजुङ मार्गमा हाल ९ हजार २४५ रुपैयाँ भाडादर तोकिएको छ भने मौसम अनुकूल भए ५५ मिनेटमै यात्रा पूरा हुन्छ ।






