काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित भवन खाली गरिदिन घरधनी भरतमणि देवकोटाले आग्रह गरेका छन् ।
अमेरिकामा रहेका देवकोटाले लामो समयसम्मको घरभाडा नपाएको र सुरक्षाको कारण देखाउँदै तीन महिनाभित्र घर खाली गर्न पार्टीलाई जानकारी गराएका हुन् । उनका अनुसार १० महिनादेखि घरभाडा नपाएको र पार्टीलाई सापट दिएको रकमसमेत फिर्ता पाउन बाँकी छ ।
देवकोटा रास्वपाको अनुशासन आयोगका प्रमुखसमेत रहे पनि पार्टीमा आफ्नो संलग्नता र घरभाडा फरक–फरक विषय भएको प्रष्ट पारे । पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घरभाडा अर्को विषय हो । तर पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता नदेखाएको उनकाे गुनासाे छ ।
देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडा सम्झौता गरिएको थियो । रास्वपाको कार्यालय सुरुवातमा बसुन्धरामा रहेको भए पनि त्यहाँको स्थान सानो भएको भन्दै कार्यालय बनस्थलीस्थित देवकोटाको घरमा सारिएको हो । सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकारका रूपमा नियुक्त भएका थिए ।






