चितवन – मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको भीषण पहिरो बिहीबार दिउँसो मात्रै पन्छाइने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार मंगलबार अपराह्न खसेको उक्त पहिराले सडक पूर्ण रूपमा अवरुद्ध पारेको हो।
डिभिजनका प्रमुखले दिएको जानकारीअनुसार मंगलबारदेखि नै पहिरो पन्छाउने कार्य थालिए पनि ठूलो मात्रामा चट्टान र माटो थुप्रिएकाले समय लाग्ने भएको हो। प्रारम्भिक आकलनअनुसार करिब १२ हजारदेखि १४ हजार घनमिटर सामग्री सडकमा थुप्रिएको छ।
‘बुधबार बिहान ६ बजेदेखि दुवैतर्फबाट मशीन परिचालन गरेर काम भइरहेको छ,’ डिभिजनले जनाएको छ, ‘माथिबाट ठूलो पहिरो झर्ने सम्भावना भने कम छ, तर अझै साना ढुंगाहरू तल खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ।’
डिभिजनका अनुसार उपकरण र चालकहरूको सुरक्षालाई ख्याल गर्दै निरन्तर रूपमा काम भइरहेको छ। सडकमा थुप्रिएको पहिरोको परिमाण धेरै भएकाले पूर्ण रूपमा पन्छाउन बिहीबार दिउँसोसम्म समय लाग्ने अनुमान गरिएको छ।






