तुइनखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

File Photo

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो ३:२० बजे पुनः भयंकर सुक्खा पहिरो खसेको छ । यसले गर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने माथिबाट निरन्तर खसिरहेको पहिरोका कारण सडक भासिन सक्ने जोखिम समेत बढेको छ ।

गत शुक्रबार साँझदेखि निरन्तर पहिरो खसिरहेको यो स्थान सोमबार पन्छाएर खुलाइएको थियो । तर मंगलबार पुनः ठूलो मात्रामा खसेको पहिरोका कारण राजमार्ग अनिश्चितकालका लागि बन्द भएको हो ।

यसअघि मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो झण्डै १० घण्टापछि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । तर दिउँसो तुइनखोलामा फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड सम्पूर्णरूपमा ठप्प भएको हो ।

ठूलो सुक्खा पहिरो पन्छाउन कठिनाइ भएकाले सडक खुल्न कति दिन लाग्ने भन्नेबारे अहिले अनुमान गर्न नसकिने प्रहरीको भनाई छ । सडक अवरुद्ध भएकाले यात्रु तथा सवारीसाधनलाई फिर्ता गरी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्