काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमण प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका युवराज क्याप्छाकी रहेको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दिएको छ ।
महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गर्दै गरेको भिडियो सार्वजनिक भएपछि सोही आधारमा क्याप्छाकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइने भएको छ ।
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरीले आन्दोलन नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन सुरक्षाकर्मीमध्ये असई मिलन राय र जवान उत्तम थापाको हत्या महाराजगञ्ज क्षेत्रमा भएको थियो । सिन्धुली घर भएका राय र दार्चुलाका थापा आन्दोलनकारी भीडको आक्रमणमा परेका थिए । विशेषगरी जवान थापालाई ‘डीएसपी’ भन्दै भीडले कुटपिट गरी हत्या गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।
त्यस्तै सोही दिनको झडपमा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङ पनि आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका थिए । प्रहरीले घटनामा संलग्न अन्यलाई समेत पहिचान गरी आवश्यक कानूनी कारबाही अघि बढाइने जनाएको छ ।






