काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा खसेको सुक्खा पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरि ठूलो पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम नरोकेकाले तत्काल पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि यात्रु र सवारी चालक दलका सदस्यहरू बाटोमै अलपत्र परेका छन् । प्रहरीले उनीहरूलाई सुरक्षित ठाउँमा बस्न तथा लेन अनुशासन पालना गर्दै प्रतीक्षा गर्न अनुरोध गरेको छ । यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको पहिरोका कारण ४० घण्टा सडक अवरुद्ध हुँदा यात्रुहरू हैरान भएका थिए । त्यतिबेलाको चाप सामान्य नहुँदै पुनः धादिङको जवाङ खोलामा पहिरो झरेपछि यात्रुहरूको यात्रा अझ कष्टकर बनेको छ ।
दशैं मनाउन गाउँ फर्किरहेकाहरू विशेष प्रभावित भएका छन् ।







