विशेष महाधिवेशनका एजेन्डामा काँग्रेसभित्र विवाद तीव्र

काठमाडौँ – जेन-जी आन्दोलनले उठाएको परिवर्तनको माग सम्बोधन गर्ने कि पार्टीलाई यथास्थितिमै अघि बढाउने भन्ने विषयमा नेपाली काँग्रेसभित्र मतभेद चुलिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले तत्काल पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको निष्कर्ष निकालेको छ भने संस्थापन पक्षले यसको विरोध गरेको छ ।

काँग्रेस विधानअनुसार विषम परिस्थितिमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ । साथै, महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतको हस्ताक्षरसहित निवेदन दिएमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधानसमेत छ । संस्थापन पक्ष यसमा सकारात्मक नभएपछि थापा–शर्मा समूह प्रतिनिधिहरूको हस्ताक्षर अभियानको तयारीमा जुटेको छ । नेता गुरुराज घिमिरेका अनुसार सोमबारदेखि औपचारिक रूपमा हस्ताक्षर अभियान सुरु गर्ने निर्णय गरिएको हो ।

तर, संस्थापन पक्षले भने तत्काल विशेष महाधिवेशन असम्भव रहेको बताएको छ । नेता प्रकाशमान सिंहको निवासमा बसेका पाँच पूर्वपदाधिकारी—विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह र प्रकाशशरण महत—ले सभापति उपचाररत रहेको बेला नेतृत्व फेर्ने प्रसङ्ग उठाउनु उचित नभएको निष्कर्ष निकालेका छन् । प्रवक्ता महतका अनुसार, “सभापति फर्किएपछि केन्द्रीय कार्यसमितिको बैठकमार्फत आवश्यक छलफल गर्न सकिन्छ ।”

२४ भदौमा प्रदर्शनकारीको आक्रमणमा घाइते भएका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन् ।

यसबीच, युवा नेताहरू भने पार्टीभित्र गहिरो पुनर्गठन आवश्यक रहेको दाबी गर्दै आएका छन् । महामन्त्री थापाले शनिबार जारी भिडियो सन्देशमार्फत नीति र नेतृत्वमा परिवर्तन नगरी पार्टीलाई टिकाउन नसकिने उल्लेख गरेका थिए । उनले २०१४ मा पनि विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण भएको उदाहरण दिँदै आज फेरि त्यस्तै अवसर आएको बताए ।

थापा र शर्माको समूहले पुराना क्रियाशील सदस्यताको नवीकरण, नयाँ सदस्यता खुलाउने, विधानका धारा निलम्बन गरी नियमित महाधिवेशनतर्फ जाने वा १४औं महाधिवेशनका प्रतिनिधिबाट विशेष महाधिवेशनमा जानेजस्ता विकल्प पनि अघि सारेका छन् ।

नेता शेखर कोइरालासमेत विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा रहेको सहमहामन्त्री जीवन परियारले बताए । तर, केन्द्रीय सदस्य नैनसिंह महरले भने तीन महिनापछि नियमित महाधिवेशनमै गएर नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन् ।

यसरी, पार्टीभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबीचको विवाद चर्किँदै गएपछि काँग्रेसको आगामी बाटो अस्पष्ट बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्