सेयर बजार १११ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार १११.७० अंकले बढ्दै २६२३.६२ अंकमा पुगेको छ। बिहीबार नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको बजार आज उतारचढावबीच निरन्तर बढ्दै उच्च विन्दुमा बन्द भएको हो।

बजार उकालो लाग्नमा सरकारले पुँजी बजारबारे चासो दिँदै दुई महत्वपूर्ण कदम चाल्नु निर्णायक देखिएको छ। बिहीबारको गिरावटपछि सरकारले पुँजी बजारमा देखिएका विकृति अन्त्यका लागि कार्यदल गठन गरेको थियो भने नेपाल स्टक एक्सचेन्जको अन्तिम मूल्य निर्धारण प्रणालीमा संशोधन गर्ने निर्णय गरेको थियो। आजको कारोबारमा सो निर्णयको सकारात्मक प्रभाव देखिएको छ।

आज दिनभरमा ९ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। निर्जीवन बिमा र म्युचुअल फन्ड बाहेक सबै उपसूचक हरियो भएका छन्। निर्जीवन बिमा समूह ३.५३ प्रतिशतले घट्दा ट्रेडिङ समूह ८.३३ प्रतिशतले बढ्दै अगाडि रह्यो।

त्यस्तै, इन्भेस्टमेन्ट समूह ७.७७ प्रतिशत, विकास बैंक ६.३४ प्रतिशत, फाइनान्स ६ प्रतिशत, जलविद्युत् (हाइड्रो) ५.९८ प्रतिशत, जीवन बिमा ५.९३ प्रतिशत, उत्पादनमूलक क्षेत्र ४.८६ प्रतिशत, बैंकिङ ४.७६ प्रतिशत र माइक्रोफाइनान्स ४.०३ प्रतिशतले बढेका छन्।

बजारमा १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। विपरीत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ।

कारोबारतर्फ, नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडि रह्यो। यस कम्पनीको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। दोस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको कारोबार ४८ करोड रुपैयाँ बराबरको भयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्