काठमाडौँ – नख्खु कारागारमा तोडफोड र आगजनी भइरहेको संवेदनशील क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा त्यही स्थानमा रहेको भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म उक्त भिडियो अहिले चर्चामा छ।
भिडियोमा कालो टिसर्ट र सेतो गम्छा लगाएका झा हतारहतर भाग्दै कसैसँग कुरा गरिरहेका देखिन्छन्। पछाडि फर्किएर “छोड्दिऊँ, छोड्दिऊँ” भन्ने आवाज पनि सुन्न सकिन्छ। तर, उनले प्रदर्शनकारीलाई रोक्न खोजेको संकेत भने स्पष्ट देखिँदैन। केहीबेरपछि उनी त्यहाँबाट दौडेर निस्किएका देखिन्छन्।
यसैबीच, सहकारी बचत रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा थिए। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते उनी कारागारबाट बाहिरिएका थिए।
रविलाई छुटाउन चितवनदेखि ठुलो सङ्ख्यामा रास्वपा कार्यकर्ता काठमाडौं आएका थिए। सोही दिन रास्वपाका नेताहरूले सामाजिक सञ्जालमार्फत नख्खु पुग्न आह्वान गरेका थिए। कार्यवाहक सभापति डिपी अर्याल, प्रवक्ता झा, सह–महामन्त्री विपिन आचार्य, सांसद हरि ढकाललगायतका नेता कार्यकर्ता कारागार पुगेका थिए। त्यहाँ “देश चलाउने गृहमन्त्रीलाई थुनेर राख्न मिल्दैन, अब सरकार चलाउने हो” भन्दै नाराबाजीसमेत गरिएको थियो।
त्यही भीडबीच रवि हात हल्लाउँदै जेलबाट बाहिरिएका थिए। निस्किएलगत्तै कार्यवाहक सभापति अर्यालले अँगालो मार्दै भावुक प्रतिक्रिया दिएका थिए। रवि बाहिरिएपछि गाडीको छतमा उभिएर समर्थकलाई हात हल्लाउँदै र्यालीसमेत निकालिएको थियो।
तर, सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई आन्दोलनकै नाममा कारागारबाट निकालिएको भन्दै चर्को आलोचना भएको थियो। आलोचनापछि रविले आफू वैधानिक रूपमा छुटेको दाबी गर्दै पत्र सार्वजनिक गरेका थिए। तर, कारागार स्रोतले त्यो पत्र फर्जी भएको जनाएको छ। चर्को दबाबपछि रवि पुनः नख्खु कारागार फर्किएका छन्।






