काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान राजनीतिक संकटको सामना गर्न पार्टीको व्यापक पुनर्संरचना अपरिहार्य भएको बताएका छन्। शनिबार जारी भिडियो सन्देशमार्फत उनले यसका लागि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने आवश्यकता औंल्याए।
महामन्त्री थापाले कांग्रेसले विगतमा उठाएका मुद्दालाई निष्कर्षमा पुर्याउन नसकेको कमजोरी स्वीकार गर्दै कार्यशैलीमा आमूल परिवर्तन नगरे अस्तित्वमै संकट पर्ने चेतावनी दिए। उनले भने, “यत्रो उथलपुथल भइसकेपछि हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्दैनौं। अब मुद्दा उठाउने मात्र होइन, त्यसलाई निष्कर्षमा पुर्याउने गरी पार्टीको पुनर्गठन गर्नुपर्छ।”
थापाले आफू पनि महामन्त्रीको हैसियतले कमजोरीको भागेदार रहेको उल्लेख गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प नरहेको स्पष्ट पारे। उनले कांग्रेसलाई पुनः सशक्त बनाउन दुई विकल्प अघि सारे—
१५ औं महाधिवेशन : पुरानो क्रियाशील सदस्यता नवीकरण प्रक्रिया स्थगन गरी नयाँ सदस्यता वितरण खोल्ने, विधानका धारा निलम्बन गरेर साधारण सदस्यहरूबाटै नयाँ नेतृत्व चयन गर्ने।
विशेष महाधिवेशन : यदि पहिलो विकल्प सम्भव नभए, १४ औं महाधिवेशनकै प्रतिनिधिहरूबाट विशेष महाधिवेशन बोलाउने र त्यसैबाट नयाँ नेतृत्व चयन गर्दै नीति, नियम र संरचनामा सुधार गर्ने।
इतिहासलाई स्मरण गर्दै उनले २०१२ सालमा सुवर्ण शमशेरले नेतृत्व छोडी विराटनगरमा विशेष महाधिवेशनमार्फत बीपी कोइरालालाई सभापति बनाएको प्रसंग उल्लेख गरे। उक्त कदमपछि कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको उदाहरण दिँदै अहिले पनि त्यस्तै साहसिक निर्णय आवश्यक रहेको उनको भनाइ थियो।
“यो मेरो व्यक्तिगत विषय होइन, मभन्दा माथि पार्टी छ, तर पार्टीभन्दा माथि देश छ। यो अभियानका लागि म पार्टीको साधारण सदस्य भएर बस्न तयार छु,” थापाले भने।






