दार्चुला – अपी हिमाल क्षेत्रमा अवस्थित ६ हजार ३९६ मिटर उचाइको ल्याह्युल पिक (भभया हिमाल) पहिलोपटक सफल आरोहण भएको छ।
अपिहिमाल गाउँपालिकाको समन्वयमा सञ्चालित व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीको सात सदस्यीय टोलीले बिहीबार आरोहण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ।
आरोहण गर्ने टोलीमा प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, राकेशराज तामाङ तथा प्रशिक्षार्थी सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन र डाली शेर्पा रहेका थिए। गाउँपालिकाका अनुसार अपिहिमाल–१ क्षेत्रमा पर्ने अपी हिमाल (७१३१ मिटर) को दायाँपट्टि अवस्थित भभया हिमाल पहिलोपटक आरोहण गरिएको हो। यसले अपी हिमाल क्षेत्रमा पर्यटन र हिमाल आरोहणीलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पदमार्ग निर्माण, पर्यटन आवास गृह र अन्य पूर्वाधार विकासमा जोड दिएको छ। विभिन्न निकायको सहकार्यमा ती कामहरू अगाडि बढाइएको जनाइएको छ। अघिल्लो संघीय सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमाललाई आगामी दुई वर्षका लागि शुल्कमुक्त गर्दै आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो।






