बागमती प्रदेशसभाका सभामुख पाठकको राजीनामा

हेटौंडा — बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्।

पाठकले गत २४ भदौमा जेनजी आन्दोलन चर्किएपछि सामाजिक सञ्जालमार्फत सभामुख पदबाट राजीनामा घोषणा गरेका थिए। तर, उनले कानुनी प्रक्रिया पुरा गर्न नसकेको भन्दै औपचारिक पत्र आज मात्र बुझाएका हुन्।

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा उल्लेख छ। साथै, राष्ट्र दुःखमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको उनले बताएका छन्।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए। त्यसको केही घण्टापछि पाठकले पनि फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए। जेनजी आन्दोलनकै क्रममा तोडफोड र आगजनीका कारण बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरण जलेर ध्वस्त भएका थिए। त्यसबेला पाठक काठमाडौंमै रहेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्