काठमाडौं – भारतको हिमाञ्जल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिक भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेहरू सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। तीमध्ये तीन जना मृतक एकै परिवारका भएको खुलेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकले गाडीमा नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको बताइएको छ। दुर्घटनामा घाइते भएकी लक्ष्मीलाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो। त्यस्तै, गम्भीर घाइते भएका डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज पठाइएकोमा त्यहीँ उनको मृत्यु भएको हो। बाँकी दुई घाइतेलाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।
भारतीय द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन्। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ।
यसबीच, हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्। त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।






