काठमाडौं – अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अन्य सबै शीर्ष नेता र पूर्वमन्त्रीहरू शिवपुरी सैनिक तालिम केन्द्रबाट फर्किएका छन्।
‘जेन–जी’ आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि तत्कालीन प्रधानमन्त्री ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मन्त्री परिषद्का सदस्यहरूलाई सुरक्षा कारण शिवपुरी लगिएको थियो।
स्रोतका अनुसार प्रचण्ड र नेपाललाई सिंहदरबारबाट सेनाले हेलिकप्टरमार्फत् शिवपुरी पुर्याएको थियो भने मन्त्रीहरूलाई भैंसेपाटीस्थित क्वार्टरबाटै लगिएको थियो। तर, हाल उनीहरू शिवपुरीबाट फर्केर आफ्ना आफन्त वा साथीभाइका घरमा आश्रय लिएका छन्। अधिकांश नेताका घरमा आगजनी र तोडफोड भएकाले बस्न नसक्ने अवस्था रहेको बताइएको छ। ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाले उनलाई हेलिकप्टरमार्फत बालुवाटारबाट शिवपुरी लगेको थियो। उनले बुधबार राति ‘जेन–जी’ नामक पत्र जारी गर्दै आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको पुष्टि गरेका थिए। यसअघि, मंगलबार दिउँसो सिंहदरबारमा विपक्षी दलको बैठक आह्वान गरेका प्रचण्डको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेपछि उनी र माधव नेपाललाई तत्काल सेनाले शिवपुरी लगेको थियो।
हाल अन्तरिम सरकार बनेपछि सुरक्षा अवस्था सहज हुँदै गए पनि ओली अझै शिवपुरी सैनिक तालिम केन्द्रको सुरक्षा घेराभित्रै रहेको पुष्टि भएको छ।







