काठमाडौं – केन्द्रीय सरकार मातहत रहेको एकमात्र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) आजदेखि प्रमुखविहीन हुने भएको छ । विभागीय प्रमुख, मुख्य अनुसन्धान निर्देशकको पद खाली हुँदै गर्दा हाल विभागमा कार्यरत ओमप्रकाश जोशी र टेकेन्द्र कार्कीबीच प्रतिस्पर्धा चर्किएको विभागीय स्रोतले जनाएको छ ।
विभागीय वरिष्ठताको क्रममा पहिलो स्थानमा रहेका जोशी सरल स्वभाव र विभागीय कामप्रति प्रतिबद्ध व्यक्तिका रूपमा चिनिन्छन् । देशका हिमाल, पहाड र तराईका जिल्लादेखि सुरक्षा परिषद् सचिवालय, भारतस्थित नेपाली दूतावास र प्रदेश कार्यालयसम्म विविध जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका उनी अहिले विभागको प्रशासन तथा इन्टेलिजेन्स महाशाखाको नेतृत्व गरिरहेका छन् । अधिकांश कर्मचारीले इमान्दार र काममा लगनशील ठानेकाले जोशीलाई मुख्य अनुसन्धान निर्देशक पदको प्रवल दाबेदार मानिएको छ ।
तर अर्का प्रतिस्पर्धी टेकेन्द्र कार्की विभागमा पाँच वर्षभन्दा बढी सिनियर छन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पदमा कार्यरत कार्की कर्णाली प्रदेशका उच्चस्तरीय माओवादी नेतासँग निकट सम्बन्धका कारण विवादमा परिरहेका छन् । मिडिया स्क्यान्डल र राजनीतिक पहुँचमार्फत आफूलाई अब्बल देखाउने कोशिस गर्दै आएका कार्की ‘चाकडी र चाप्लुसीका किङ मेकर’को रूपमा चित्रण हुने गरेको विभागीय स्रोतको दाबी छ ।
कार्की निकट वृतले भने उनलाई जसरी भए पनि विभागको प्रमुख बन्नुपर्ने लक्ष्य रहेको र त्यसका लागि कुनै पनि उपाय अपनाउन पछि नपर्ने बताउँछ । उनी विगत केही समयदेखि शीर्ष नेतादेखि उच्च पदस्थ कर्मचारीका घर–घर पुगेर समर्थन जुटाउन सक्रिय देखिएका छन् । तर, उनको कार्यशैली र हतकण्डाप्रति विभागभित्रै असन्तोष बढेको छ । विभागीय स्रोतले टिप्पणी गरेको छ, “यस्ता तरिकाले नेतृत्वमा पुगेपछि विभागलाई फाइदा भन्दा पनि नोक्सानी मात्र हुने खतरा छ ।”
जोशी सुदूरपश्चिमका हुन् भने कार्की कर्णाली प्रदेशका । देशैभर ‘जेनजी आन्दोलन’ले बेथितिविरुद्धको आवाज बुलन्द पारिरहेको सन्दर्भमा राअविको नेतृत्व चयन प्रक्रियामा पनि त्यसको प्रभाव परेको विश्लेषकहरूको भनाइ छ । सुरक्षा जानकार र सरोकारवालाहरूले विभाग प्रमुख छनोट गर्दा राजनीतिक दबाब वा चाकडीभन्दा ‘थिति अनुसारको योग्यता र इमानदारी’लाई आधार बनाउनुपर्ने सुझाव दिएका छन् ।






