प्रधानमन्त्री कार्कीको निर्णय ऐतिहासिक, आन्दोलनको मर्मसँग मेल खाने कदम

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री सुशिला कार्कीलाई हिजो मन्त्रिपरिषद् गठनमा तत्काल निर्णय नगरी गहन विचार–विमर्श गर्ने निर्णयप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले कार्कीको यो कदम जेन–जी आन्दोलनको मूल मर्मसँग पूर्णतः मेल खाने ऐतिहासिक निर्णय भएको बताएका छन्।

प्रसाईका अनुसार आगामी मन्त्रिपरिषद्‌मा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक तथा नीतिगत विज्ञ हुन अनिवार्य छ। उनले आन्दोलनमा मात्र उपस्थित भएको आधारमा छनोट गर्नु अनुचित हुने भन्दै दक्ष, योग्य र ईमानदार व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्।

“जेन–जीको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिनुपर्छ, जसले आन्दोलनका लक्ष्यलाई व्यवहारमा परिणत गर्न सकून्,” प्रसाईले भने। उनले कार्कीलाई प्रधानमन्त्री बनाउन कुनै हिचकिचाहट नगरी समर्थन गरेको उल्लेख गर्दै यो कदम आन्दोलनको नैतिकताको सम्मान र बलिदान गरेका युवापुस्ताको सपना जोगाउने माध्यम भएको बताए।

प्रसाईले आन्दोलनमा सहादत दिएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भने, “तपाईंहरूको रगतले कोरेको यो इतिहास सदैव भावी पुस्ताका लागि प्रेरणाको दीपक बन्नेछ। तपाईंहरूको समर्पण र त्याग यस राष्ट्रको आत्मामा जीवित रहनेछ।” साथै, आन्दोलनमा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै उनले राष्ट्रले उनीहरूको संघर्षलाई कहिल्यै नबिर्सने बताए।

प्रधानमन्त्री कार्कीलाई कार्यकालको शुभकामना दिँदै प्रसाईले भने, “तपाईंको नेतृत्वमा नयाँ, न्यायपूर्ण र समावेशी नेपाल निर्माण गर्नेछौं भन्ने पूर्ण विश्वास छ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्