ललितपुर – जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त आत्मसमर्पण गर्न कारागार प्रशासन नक्खुले आग्रह गरेको छ । कारागार प्रशासनले सार्वजनिक अपील जारी गर्दै कानूनी प्रक्रिया र विधिको पूर्ण परिपालनामा सहकार्य गर्न कैदीबन्दीलाई आह्वान गरेको हो ।
फरार अवस्थामा रहिरहँदा कानूनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी दिइएको छ । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्खु कारागार आक्रमण गरी पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकालेका थिए । सो क्रममा अन्य कैदीबन्दी पनि कारागारबाट भागेका थिए ।
सुरक्षा निकायका अनुसार आन्दोलनका दिन देशभरका विभिन्न कारागारबाट करिब १३ हजार कैदीबन्दी फरार भएका थिए । तीमध्ये अहिलेसम्म करिब २ हजार जना पक्राउ परेका छन् भने बाँकी अझै फरार रहेका छन् ।






