जेनजी आन्दोलनपछि कांग्रेस नेता/कार्यकर्तालाई महामन्त्री थापाले के भने ? (भिडियो)

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी समूहले प्रस्ताव गरेका व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्वमा ल्याउन कांग्रेस तयार रहेको स्पष्ट पारेका छन् । शुक्रबार जारी गरिएको भिडियो सन्देशमार्फत उनले जेनजी समूहका मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देशलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे ।

महामन्त्री थापाले भदौ २३ र २४ गतेका घटनाप्रति पार्टीतर्फबाट माफी माग्दै प्रत्येक घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने, “दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ । भदौ २३ र २४ मा घटेका क्रुर र अमानवीय घटनाको सत्यतथ्य बाहिर ल्याई जिम्मेवारलाई कारबाही गर्नुपर्छ ।”

सरकारी संरचनामाथि नियतवश क्षति पुर्‍याउनेलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै थापाले भने, “तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको पहिलो माग यही हुनेछ– प्रत्येक घटना छानबिन होस् र दोषी जेसुकै होस्, कानुनअनुसार कारबाही होस् ।”

उत्तेजना फैलाउने होइन, सबैलाई जोड्ने प्रयास कांग्रेसले गर्ने बताउँदै थापाले पार्टी अब सच्चिने र अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

अन्तरिम सरकार गठनको सन्दर्भमा उनले संविधानसँग जोडेर मात्र दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरे । “२०७२ को संविधानसँग जोडिएन भने अहिले बन्ने सरकारको समाधान स्थायी हुन सक्दैन । बाटो सजिलो छैन, तर संविधानसम्मत बनाउनैपर्छ,” थापाको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्